गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई पदमुक्त गरेको छ। प्रदेश सरकारले वितरण गरेको ‘प्रदेश खेलकुद पदक’ मा अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोपमा सरकारले शर्मालाई पदबाट हटाउने निर्णय गरेको हो।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलका अनुसार मन्त्रिपरिषद्को निर्णय शुक्रबार मन्त्रालयमार्फत प्रदेश खेलकुद परिषद् र सरोकारवाला निकायहरूलाई औपचारिक रूपमा जानकारी गराइएको छ। बोर्डका अन्य पदाधिकारी तथा सदस्यहरू भने यथावत् छन्।
शर्मालाई पदमुक्त गरेसँगै अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयका उपसचिव दीपेन्द्र परियारलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ। परिषद्को कामकारबाही प्रभावित नहोस् भनेर प्रदेश खेलकुद ऐनअनुसार परियारलाई जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश खेलकुद परिषद्ले वितरण गरेको ‘खेलकुद पदक’मा सदस्य सचिवले अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोप लाग्दै आएको थियो। यसबारे मन्त्रालयले सचिव डा. पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सदस्यसचिवलाई सातदिने स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएको निष्कर्षसहित सरकारले पदमुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित