जापानमा अक्टोबर महिनादेखि ३,१५३ भन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि हुने भएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र कमजोर जापानी येनका कारण उत्पादक कम्पनीहरूले लागतको भार उपभोक्तामाथि सार्न बाध्य भएपछि मूल्यवृद्धि थपिएको हो।
अनुसन्धान कम्पनी ‘तेइकोकु डाटाबैंक’ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सेप्टेम्बर महिनामा ४,९६५ वस्तुको मूल्य बढेपछि अक्टोबरमा पनि मूल्यवृद्धिको अर्को लहर देखिएको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण कच्चा तेल र नाफ्थाको मूल्यमा भएको वृद्धिले प्याकेजिङ सामग्रीको लागत बढाएको छ, जसले सिधै खाद्यवस्तुको बजार मूल्यलाई प्रभावित पारेको छ।
यस वर्षको तथ्यांक हेर्ने हो भने सन् २०२६ मा हालसम्म २०,१८७ वटा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि भइसकेको वा हुने क्रममा रहेको छ। लगातार दोस्रो वर्ष मूल्यवृद्धि हुने वस्तुको संख्या २० हजार नाघ्नुले जापानी उपभोक्ताको जीवनयापनमा परेको प्रभावलाई स्पष्ट पारेको छ।
अक्टोबरमा मूल्य बढ्ने सूचीमा पेय पदार्थहरू सबैभन्दा अगाडि छन्, जसमा १,३९९ प्रकारका वस्तुहरू परेका छन्। त्यसैगरी, ८२० प्रकारका मसलाजन्य वस्तु र ६६८ प्रकारका प्रशोधित खाद्य पदार्थको मूल्य पनि बढ्ने अनुमान गरिएको छ। खाद्य र पेय पदार्थ मात्र नभएर अक्टोबर महिनामा जापानभर ग्यास र विद्युत्को महसुलमा पनि वृद्धि हुने सम्भावना रहेको छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित