काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले भोलिबाट सुरू हुने टी–२० विश्वकप क्वालिफायर खेल्न आफ्नो टोली तयार रहेको बताएका छन्।
किर्तिपुरमा आज पत्रकारसँग प्रशिक्षक देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने भन्दै नेपाली टीम राम्रो लयमा रहेको बताए । राम्रो नतिजाका लागि आवश्यक रणानीतिहरु तयार गरिएको उनको भनाई छ ।
‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौँ । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं ।’ उनले भने, ‘हाम्रो लागि प्रत्येक म्याच महत्वपूर्ण छन् । त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ।’
उनले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताए । त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनको भनाई छ ।त्यस्तै कप्तान रोहित पौडेलले पछिल्लो समय नेपाली टोलीले राम्रो खेलिरहेको दाबी गर्दै, त्रिकोणात्मक सिरिजको फाइनलमा केही गल्तीका कारण हार्नु परेको बताए ।
‘हामीले सुरूको १० ओभरमा राम्रो ब्याटिङ गरिरहेका थियौं । तर, पछाडिको १० ओभरमा कोल्याप्स भयो ।’उनले ब्याटिङ अर्डर पनि आवश्यकताका आधारमा परिर्माजन हुने बताए । उनले भने ‘हामी लचक हुनुपर्छ । ओपनरहरू फिक्स्ड हुन्छ, अरु आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ,’ ।
कुनै पनि टीमलाई कमजोररूपमा नलिइने र आफ्नो बेस्ट क्रिकेट खेल्ने कप्तान पौडेलको भनाई छ । सन्दीप लामिछानेको कमब्याकले नेपालको बलिङ मजबुत हुने उनीहरुको विश्वास छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित