logo tiger cup

चीनको नक्सामा भारत फिलिपिन्स र मलेसियाकाे विराेध, नेपाल भने माैन

News Logoमिना श्रेष्ठ 2 बर्ष अगाडि
87 2 minutes read

       चीनको नयाँ नक्सामा ३ छिमेकी राष्ट्रले विराेध जनाएका छन् । तर नेपाल भने माैन बसेकाे देखिन्छ । 

  चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश छैन । नयाँ नक्सामा भारत र  फिलिपिन्सले औपचारिक असहमति जनाएका छन् भने मलेसियाले पनि आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गरेको भन्दै कडा आपत्ति जनाएको छ । 

  चीन छिमेकीहरुको समेत भूभागमा आफ्नो दाबी गर्दै गत सोमबारमात्रै नयाँ नक्सा जारी गरेको हो । यो नक्सा स्वीकार्य नहुने चेतावनी फिलिपिन्सले दिएको छ ।

अन्तर्राष्ट्रिय न्यायाधीकरणको त्यस सीमांकनलाई वेवास्ता गर्दै फिलिपिन्सको भूभाग राखेर चीनले नक्सा सार्वजनिक गरेपछि मनिलाले आपत्ति जनाएको छ ।

फिलिपिनी विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘फिलिपिन्सको सार्वभौमसत्ता माथि धावा बोल्दै सामुन्द्रिक क्षेत्रलाई जबरजस्ती आफ्नो नक्सामा समेट्ने चिनियाँ प्रयास अन्तर्राष्ट्रिय कानुन विपरीत छ । यो नक्सा हामीलाई स्वीकार्य छैन ।’

 मलेसियाको विदेशमन्त्रालयले पनि चीनले एक पक्षीय नक्सा जारी गरेर आफ्नो मुलुकको सार्वभौमिकतामा प्रहार गरेको बताएको छ । ‘चीनले एकतर्फी जारी गरेको नयाँ नक्सा हामीलाई स्वीकार्य छैन । जबर्रजस्ती नक्सा जारी गरेर चीनले मलेसियाको सार्वभौमिकता अस्वीकार गरेको छ भने हाम्रो सामुन्द्रिक क्षेत्रमा मलेसियाको सार्वभौम अधिकार हनन गरेको छ,’ मलेसियाली विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।

  भारतले मंगलबार नै औपचारिक विरोध गरेको थियो । अरुणाञ्चल प्रदेश र आक्साइ चीन पठार बेइजिङले आफ्नो नक्सामा राखेपछि नयाँदिल्लीले विरोध जनाएको हो । ‘बिना कुनै आधार हाम्रा भूमि आफ्नो नक्सामा समेट्ने कुरा भारतलाई स्वीकार्य छैन । हामीले कुटनीतिक ढंगबाट यसको विरोध जनाएका छौँ,’ भारतीय विदेश मन्त्रालयका सचिव अरिन्दम बाग्चीले भनेका छन् ।

अन्य छिमेकी राष्ट्रले चीनको नयाँ नक्साप्रति विरोध जनाउँदा नेपाल भने मौन  छ । चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले नेपालले यसका सम्बन्धमा चीनसँग आफ्नो प्रस्ट अडान राख्ननुपर्ने मत राख्छन् । ‘चुच्चे नक्साबारे नेपालले चीनसँग प्रस्ट अडान राख्नुपर्छ । भारतले पनि आफ्नो राजनीतिक नक्सामा यसलाई मान्यता नदिएको हुनाले चीनले पनि भारतलाई नचिढ्याउन त्यसलाई समावेश नगरेको हुनसक्छ,’ उनले भने ।

यस विषयमा सरकारले अझैसम्म पनि कुनै प्रतिक्रिया जनाएको छैन । यस्तो बेलामा सम्बन्धित राष्ट्रलाई कुटनीतिक नोट पठाउने, कुटनीतिक च्यानलमार्फत कुरा राख्ने आदि प्रचलन छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेइजिङ भ्रमणमा जाने तयारी गरेकाले यसबार उहीँ गएर अडान राख्ने तयारी भएको प्रधामन्त्रीको सचिवालयको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस