logo tiger cup

जसपा नेतालाई समात्ने तीन नगरप्रहरीलाई महानगरले जिम्मेवारीबाट हटायो

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

     विराटनगर महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएको छ । जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई महानगरपालिकाले आजबाट नगरप्रहरीको जिम्मेवारीबाट हटाएको हो ।

विराटनगर अस्पताल चोकमा पार्कीङको विषयमा विवाद हुँदा जसपा नेता यादव र प्रहरी जवानबीच ठेलामठेल भएको थियो । त्यसपछि पुगेको नगरप्रहरीले जसपा नेता यादवलाई औषधि पसलबाट कठालोमा समातेर वडा प्रहरी कार्यालय विराटनगरमा पुर्याएको थियो ।

नगर प्रहरीले कठालोमा समातेर लछारपछार पार्दै ल्याएको भिडियो सार्वजनिक भएपछि जसपा कार्यकर्ताले आन्दोलन गरेका थिए । आन्दोलनपछि नगरप्रमुख नागेश कोइरालाले नगरप्रहरीलाई नगरप्रहरी सेवाको जिम्मेवारीबाट हटाएका हुन् ।

जसपा अध्यक्ष यादव विराटनगरको अस्पताल चोकमा रहेको स्नेहा फार्मेसीका सञ्चालक हुन् । उनको पसल अगाडि बुधबार नो पार्किङमा रोकेको सिटी सफारीमा ह्वील लक लगाइदिएको थियो ।

बेलुका करिब ४ बजे पसल पुगेका यादवलाई सफारी चालकले प्रहरीले लक लगाएको र खोल्न आग्रह गर्दा नमानेको गुनासो गरे । यादवले सवारी छाड्न भनेपछि विवाद भएको थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र पराजुलीका अनुसार नगरप्रहरी जिम्मेवारीबाट हटाइएकाको जागिर भने गएको छैन् । उनीहरुको जागिर भने कायम रहने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस