logo tiger cup

पोखरामा इन्टर कलेज ब्याण्ड कम्पिटिसन हुँदै, २१ टिम प्रतिष्पर्धामा

87 2 minutes read

पोखरामा पहिलो पटक ईन्टर कलेज ब्याण्ड कम्पिटिसन हुने भएको छ। पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते पोखरा स्थित प्रदर्शनी केन्द्र नयाँबजारको डोममा उक्त कार्यक्रम आयोजना हुन लागेको हो।

प्रतियोगिताले कलेज र विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभा उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउन कोशेढुंगा सावित हुनेमा आफुहरू विश्वस्त रहेको संस्थाका सचिव एवं डि–मोर्चा ब्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।
संगीतको माध्यमबाट सुस्ताएको पर्यटन उकास्न र पछिल्लो समय कोभिडका कारण लाखौं मानिसहरुमा देखिएको मानसिक असरबाट मुक्त गराउन यस्ता सांगीतिक कार्यक्रमले थेरापी काम गर्ने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष एवं लेकाली ब्याण्डका भोकलिष्ट  हर्कराज गुरुङ(भाई गुरुङ)ले बताए।

प्रतियोगिताका लागि डिजिटल अडिसनमार्फत २१ टिम प्रतिष्पर्धाका लागि छनौट भएका छन् । डिजिटल अडिसनबाट छनौट भएकाहरुबीच असोज १२ र १३ गते प्रतिष्पर्धामार्फत फाईनल चरणमा प्रवेश गर्नेछन् । फाईनल चरणमा दिएको प्रस्तुतीका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाखसहित प्रमाणपत्र, द्वितीय हुनेलाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५र५ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा ५ जनाको निर्णायक मण्डल रहनेछ, जसको संयोजकमा संगीतकार सुनिल थापा र सदस्यहरूमा गायक बिनाद बानिया,संगीतकार अमित गुरुङ, संगीतकार स्यामसुङ तामाङ र वाध्यवादक किरण बैद्य रहेका छन् ।

प्रतियोगिताको लागी बिभिन्न क्षेत्रबाट १६ लाख संकलन उदेश्य रहेकोमा कार्यक्रम सम्पन्न गर्न  झण्डै १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट संकलनलित रकम मध्ये बचत रकम कलाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनसँगै कलाकारको हक, हित र अधिकारका लागि खर्च गरिने पनि  संघका अध्यक्ष  गुरुङले बताए ।

पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।

९० को  दशकमा स्थापना भएका नेपालकै सर्बाधिक लोकप्रिय नेपथ्य, कन्धरा, लेकाली, डि–मोर्चा, द–एज जस्ता ख्यातीप्राप्त ब्याण्डहरू जन्माउन सफल पोखरा र पोखरेली संगीत क्षेत्र पछिल्लो समय भने सेलाएको देखिन्छ

पोखरा सांगीतिक कलाकार संघले २०७५ सालको चैतमा होली म्यूजिक फेष्टिवल  सम्पन्न गरिसकेको थियो । सो कार्यक्रमको पछि विश्वव्यापी महामारीकाले उत्पन्न आर्थिक मन्दीलगायतका कारण अर्को श्रृंखला गर्न सकेन तर  निकट भविष्यमै उक्त कार्यक्रमलाई निरन्तरता दिने साथै अन्य नया कार्यक्रमलाई पनि अगाडि बढाउने योजना रहेको संस्थाका सचिव भाष्करध्वज श्रेष्ठले बताए ।

२०६२ सालमा स्थापित पोखरा सांगीतिक कलाकार संघले पोखरेली कलाकारहरुलाई एकजुट बनाउने र उनीहरुको हक, हित र अधिकार स्थापित गर्ने, कलाकारिताको संरक्षण, सम्वद्र्धन, विकास र प्रवद्र्धनका लागि कार्य गर्दै आएको छ । त्यस्तै कलाकार अक्षयकोष स्थापना गरि समस्यामा परेका कलाकारहरुलाई सहयोग गर्नेलगायतका कार्य पनि संस्था गर्दै आएको छ । 


 

प्रतिक्रिया दिनुहोस