पोखरा महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदरबाट बाली जोगाउने भन्दै रुख काट्ने अनौठो अभियान थालेका छन्।
यस्तो अभियान चलाउन उनले गण्डकी सरकारले चालु आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमलाई हवाला दिएका छन्।
‘आजको मितिले १० दिनभित्र मेरो रुख म काट्छु भन्ने अभियान संचालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउनको साथै आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडाबासीको लागि यो सूचना प्रकाशित गरिन्छ,’ उनले जारी गरेको सूचनामा उल्लेख छ।
पोखराको लामाचौर, पुरनचौर क्षेत्र बाँदरबाट अति प्रभावित भएको भन्दै उनले घर वरपरका रुख विरुवा बढेकै कारण बाँदरले दु:ख दिएको तर्क गरेका छन्।
‘बाँदरले मान्छेलाई टेर्न छोडिसकयो, धपाएर पनि भाग्दैन,’ उनले भने, ‘घर, बाली वरपरका रुखमा बसिदिने भएकाले रुख काट्ने अभियान थालेको हुँ।’
उनले घर, खेतबारी वरपर भएका निजी रुख काट्यो भने बाँदर धपाउन सजिलो हुने दाबी गरे। ठूला रुख काटेर साना रुख रोप्ने योजना रहेको उनले सुनाए।
जंगलमा लब्सी, तिंजुलगायत फलफूलका विरुवा रोप्ने पनि योजना रहेको भन्दै पाण्डेले ठूला रुख काटेर सानो बनाउन थालिएको बताए। ‘हामीले जरासहित रुख काट्ने भनेको होइन, ठूला रुख काटेर सानो बनाउने भनेको हो, अब जंगलमा फलफूल पनि रोप्छौं,’ उनले भने।
पाण्डेले मात्र होइन, यसअघि २०७४ को निर्वाचनबाट निर्वाचित पोखरा महानगर वडा नम्बर २१ का अध्यक्ष खगराज आचार्यले पनि यस्तै अभियान घोषणा गरेका थिए।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित
इरानमा रहेका सबै नेपाली सुरक्षित छन्ः परराष्ट्र मन्त्रालय
पोखरा शेर्पा समाजले मनाइयो ग्याल्पो ल्होसार
चौथो हिसान फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा