नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा रु ११ अर्ब ६ करोड बराबरको नाफा
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा रु ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।
प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानी लगायतमा जम्मा रु ८२ अर्ब ८८ करोड खर्च भएको छ ।
प्राधिकरणको सञ्जित मुनाफा रु ३३ अर्ब ६४ करोड पुगेको छ । आव २०७२÷७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । विद्युत् चुहावट नियन्त्रण, आन्तरिकरुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।
प्राधिकरणले चालु आवको नौ महिनामा विद्युत् बिक्रीबाट रु ६८ अर्ब ८९ करोड खुद सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत् खरिदका रु ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ ।
यसअवधिमा हिउँदयामको माग धान्न रु ११ अर्ब ५५ करोडको विद्युत् भारतबाट आयात गरिएको छ । आन्तरिक रुपमा खपत गरी बढी भएको रु १३ अर्ब ४२ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
गुल्मीमा जलेर एक जनाको मृत्यु