पोखरा विश्वविद्यालय शिक्षण अस्पतालद्वारा COPD र पेलियाटिभ केयरमा सीएमई कार्यक्रम सम्पन्न
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल (PUTH) र बेलायतको ईस्ट ससेक्स हेल्थ केयर, NHS ट्रस्टको सहकार्यमा आयोजित Continuing Medical Education (CME) कार्यक्रम सेप्टेम्बर १९, २०२४ मा पोखरामा सम्पन्न भयो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा विश्वविद्यालयका रजिष्ट्रार प्रोफेसर डा. दीपक बहादुर भण्डारीले स्वास्थ्य सेवा क्षेत्रमा ज्ञान आदानप्रदानको महत्वमाथि जोड दिँदै कार्यक्रमको उद्घाटन गरे।
कार्यक्रममा विभिन्न सत्रहरूमा COPD (Chronic Obstructive Pulmonary Disease) र पेलियाटिभ केयरबारे छलफल भयो। पहिलो सत्रमा COPD का नेपाली र बेलायती मापदण्ड तथा देखभाल विधिहरू प्रस्तुत गरियो। त्यसपछि, नन-इनभेसिभ भेन्टिलेसन र ‘Ceiling of Care’ मा जानकारी दिइयो। चौथो सत्रमा COPD र पेलियाटिभ केयरबारे प्रस्तुति तथा छलफल गरिएको थियो। पाँचौं सत्रमा फोक्सो पुनर्स्थापना तथा समुदायस्तरीय हेरचाहबारे चर्चा भयो। सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी केस स्टडी र COPD तथा पेलियाटिभ केयरका व्यावहारिक उदाहरणहरूमा छलफल गरियो।
कार्यक्रमका प्रमुख वक्ता पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिलाले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको स्वास्थ्य सेवा सुधारमा यस सीएमई कार्यक्रमले ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे। साथै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा र गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्रले पनि कार्यक्रमका अवसरमा आफ्ना विचार राख्दै यस प्रकारका सीएमई कार्यक्रमले स्वास्थ्य सेवा सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
मणिपाल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक एवम् आन्तरिक चिकित्सा विभाग प्रमुख डा अभिषेक मास्केले COPD र यसले नेपाली समाजमा पार्ने प्रभावबारे चर्चा गरे।
सह-प्राध्यापक डा. कुमार यादवले कार्यक्रमको सफलता र सहभागिताप्रति धन्यवाद ज्ञापन गरे भने डा. प्रकाश भट्टराईले सहभागीहरूको स्वागत गर्दै नेपाल-यूकेबीचको स्वास्थ्य सेवामा सहकार्यलाई अझ प्रगाढ बनाउनका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
ईस्ट ससेक्स हेल्थकेयर एनएचएस ट्रस्टका डा. रुपक बास्तोलाले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालसँगको सहकार्यलाई निरन्तरता दिने प्रस्ताव राख्दै भविष्यमा द्विपक्षीय आदानप्रदान कार्यक्रमको सम्भावना औंल्याए।
कार्यक्रममा नेपाल मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरू तथा विद्यार्थीहरूको व्यापक सहभागिता रहेको थियो। करिब पाँच दर्जन सहभागीहरूले COPD र पेलियाटिभ केयरका अन्तर्राष्ट्रिय र स्थानीय मापदण्डबारे विस्तृत जानकारी प्राप्त गरे।
सीएमई कार्यक्रमको समाप्तिपछि, सेप्टेम्बर २० मा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दीर्घकालिक फोक्सो रोग र दमका बिरामीहरूको निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुनेछ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित