देशभर आएको वर्षाका कारण अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार सडकहरू मर्मत गर्ने तथा बाढीले बगाएका पुलहरूमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ ।देशको राजधानी जोडने लाइफ लाइनका रूपमा रहको मुख्य राजमार्ग नागढुङ्गा–नौविसे–मुग्लिङ सडकको झ्याप्ले खोलाको अवरोध हटाएपछि पृथ्वी राजमार्गमा सवारी यातायात सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।
अरनिको राजमार्गको ब्राहबीसे–दोलालघाट–धुलिखेल खण्ड सोमबार साँझसम्म सुचारु हुनेगरी कार्य भइरहेको छ । तर बीपी राजमार्गको विकल्पको रूपमा मुलकोट बाट सित्खा पुलहुँदै मन्थलीसम्म जाने सडक सुचारु भएको छ भने सित्खा–खाँडादेवी–गाल्वा सडक सोमबारसम्म सुचारु हुने मन्त्रालयले जनाएको छ ।
सडक विभागको तथ्यांकअनुसार आइतबार साँझसम्म १८ वटा राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका थिए । १७ वटा राजमार्गका ४७ स्थानमा यातायात सेवा पूर्ण टुटेको थियो भने ४०१ स्थानमा एकतर्फी मात्रै यातायात चलाउन सकिएको विभागले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित