यही माघ ९ देखि १७ गते सम्म पाेखरा रंगशालामा हुन गइरहेकाे छैटौं संस्करणको ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ७ महिला तथा ७ पुरूष गरी कुल १४ टिमकाे सहभागिता रहने पक्का भएको छ ।
प्रतियोगितामा महिलातर्फ दुई थाइल्याण्डका टिम तथा पुरुषतर्फ मालदिभ्सको राष्ट्रिय एवं भारत गुजरातको टिमसहित कुल चार विदेशी टिमहरुको सहभागिता हुने भएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् । महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड, थाइल्याण्ड क्विन्स, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लब, टिपटप न्यू डामण्ड युथ स्पोर्टस क्लब, एभेरेष्ट भलिबल क्लब रुपन्देहीको सहभागिता हुने भएको छ भने पुरुषतर्फ मालदिभ्स भलिबल एशोसियसन क्लब, भारतको गुजरात राज्यको गुजरात भलिबल क्लबसहित गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लबको सहभागिता हुने भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड ८० लाख खर्च हुने जनाउँदै अध्यक्ष शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण भलिबल प्रेमीहरुलाई सदा झैं सहयोगका लागि आह्वान गरेका छन् । उनले भने–“टाइगर कप भलिबल ब्राण्डको रुपमा स्थापित भएको छ । यो सबै यहाँहरुको सहयोगले नै भएको हो । हामी यो प्रतियोगिताबाट बचत भएको रकम विगतमा झैं शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको विकासका लागि खर्च गर्नेछौं ।
गत वर्षको तुलनामा यस वर्ष पुरस्कार राशीमा वृद्धि गरि पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ र तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । खेल हेर्नका लागि पहिलो पटक सिजनल टिकटको व्यवस्था गरिएको छ । ३ हजार ५ सय रुपैयाँमा दर्शकले प्रतियोगिताका सबै खेल हेर्न पाउने खेल संयाेजक राज कुमार गुरूङले बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित