logo trishakti

लामाचाैर कप एक्सपर्ट अन्तरमावि छात्रा भलिबलकाे सेमिफाइनल समिकरण पुरा, पुरूषकाे खेल भाेली देखि हुने

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

पोखरा, भदौ ७ गते । लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत शनिबारदेखि अन्तर मावि छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । विभिन्न स्कुलका ११ टिमले भाग लिएको पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पहिलो दिन ७ खेल भए । तीमध्ये सिर्जना मावि, टप्स मावि, शान्ता मावि र पोखरा युनाइटेड मावि सेमिफाइनल प्रवेश गरे । 
आइतबार बिहान ८ बजे पहिलो सेमिफाइनलमा सिर्जनाले टप्स र दोस्रो सेमिफाइनलमा शान्तले पोखरा युनाइटेडको सामना गर्ने खेल संयोजक शंकर केसीले बताए । 
पहिलो खेलमा सिर्जनाले सेन्ट मेरिजलाई २५–७ र २५–१५ तथा दोस्रो चरणमा इन्द्रराज्यलक्ष्मी माविलाई २६–२४ र २५–१५ को सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । 
त्यस्तै, टप्सले पश्चिमाञ्चललाई २–१ सेटमा हराउँदै विजयी यात्रा सुनिश्चित गरेको थियो । २०–२५, २५–१३ र २५–२१ सेटमा हराएको टप्स क्वाटरफाइनलमा बालमन्दिरको चुनौती २५–१६ र २५–१२ सेटमा पन्छाउँदै अन्तिम चारमा पुग्यो । 
शान्ताले प्रतिभा र केफ माविलाई हराउँदै पोखरा युनाइटेडसँग सेमिफाइनल सुनिश्चित गरेको छ । उसले प्रतिभालाई २५–१८ र २५–१९ तथा केफलाई २५–१४ र २५–१९ को सोझो सेटमा हराएको हो । बाईमा परेको पोखरा युनाइटेडले कन्या माविलाई सोझो सेटमै २५–१३ र २५–१९ मा हराउन सफल भएको हो । 
नवआदर्श सामुदायिक विकास समाज ९नाकोड्स० आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ को मुख्य आकर्षण लामाचौर कप भलिबल हो ।
इन्द्रराज्यलक्ष्मी मावि प्रागंणमा भदौ ८ देखि १० गतेसम्म लामाचौर कपसहित विविध सांगीतिक एवं सांस्कृतिक हुँदैछन् । आयोजकले अघिल्लो दिनदेखि भलिबलका खेल सुरु गरेको हो । 
खेलतर्फ खुला पुरुष भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता यहाँका थप आकर्षण हुन् । 
रारा लामाचौर कप खुला पुरुष भलिबलतर्फ आयोजक, एपिएफ पोखरा, कृष्णदल फूलबारी, जिएम समाज, माछापुच्छे« गाउँपालिका खेलकुद विकास समिति र ढुंगेदेउराली क्लब स्याङ्जा गरी ६ टिमले भाग लिएका छन् । उनीहरुको खेल आइतबार १० बजे देखि सुरु हुनेछ । 
पुरुष भलिबल विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार रहेको छ । 
तीज गीतमा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार साथै सहभागी टिमलाई प्रोत्साहन स्वरुप २ हजार दिइनेछ । लोकनृत्यमा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ४०, २५ र १५ तथा सान्त्वना ३ टिम तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने छन् । 
यस्तै, लोकदोहोरी कलाकारहरु प्रकाश दूतराज, जानकी तारामी मगर, रीता थापामगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुङ, लक्ष्मी नेपाली लगायतको प्रस्तुति हुने प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतमले बताए । 
‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने उद्घोषका साथ संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले यसपालि पनि महोत्सवलाई निरन्तरता दिइएको संस्थाका अध्यक्ष इ। दिनेश भण्डारीले बताए ।
महोत्सव आयोजना गर्न करिब ४५ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष बृद्धिमा थप गरिने जनाइएको छ । 
२०५४ सालमा पहिलोपल्ट लामाचौर मेला आयोजना गरेको संस्थाले एम्बुलेन्स, शववाहक संचालन गर्नुका साथै गोस्तेघाटमा फुटबल मैदानसमेत निर्माण गरेको छ । 
डिसहोम फाइबर नेटको मुख्य प्रायोजनमा हुने महोत्सवमा हिमश्री फुड्स प्रालिको उत्कृष्ट उत्पादन रारा चाउचाउ र पोखराको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्रमशः खुला तथा अन्तर मावि छात्रा भलिबलतर्फ टाइटर स्पोन्सर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस