पोखरा र दक्षिण कोरियाको चेओङ योङ काउन्टीबीच खेलकुद विकासका लागि महत्त्वपूर्ण समझदारी
पोखरा महानगरपालिका र दक्षिण कोरियाको चेओङ योङ काउन्टीबीच खेलकुद क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारी भएको छ । खेलाडीको क्षमता अभिवृद्धि, मैत्रीपूर्ण सम्बन्ध विस्तार र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा पोखरा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चेओङ योङ काउन्टी खेलकुद समितिका तर्फबाट अध्यक्ष हान ग्वाङ् सेओकले हस्ताक्षर गरे ।
नगर प्रमुख धनराज आचार्यले यो समझदारीले पोखरालाई ‘खेलकुदको हब’ बनाउने लक्ष्यमा सघाउ पुग्ने बताए । ‘फुटबल, बक्सिङ, तेक्वान्दो लगायतका खेलमा हाम्रा खेलाडीहरूको दक्षता अभिवृद्धि गर्न यो समझदारी महत्त्वपूर्ण हुनेछ,’ उनले भने, ‘यसले पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हब बनाउने सन्दर्भमा अन्तर्राष्ट्रिय सहकार्यको औचित्य पुष्टि गरेको छ ।’ उनले यो सहकार्यमार्फत पोखरेली खेलाडीले कोरियाली प्रशिक्षकबाट मार्गदर्शन पाउने र नियमित मैत्रीपूर्ण खेलको अवसर प्राप्त गर्ने बताए ।
चेओङ योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ् सेओकले पोखराका खेलाडीको प्रदर्शन सुधार गर्न कोरियाली पक्षले उन्नत प्रविधि र प्रशिक्षण विधिहरू प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले युवा खेलाडी आदानप्रदान, विद्यालयस्तरीय खेलकुद कार्यक्रम सञ्चालन र पोखराका खेलकुद संस्थाहरूको व्यावसायिक विकासमा सहयोग गर्न आफूहरू तत्पर रहेको बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न