logo tiger cup

सभामुखका लागि अर्यालको मात्रै मनोनयन दर्ता : कांग्रेस र नेकपाको दाबी उपसभामुखमा

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालको मात्र उम्मेदवारी परेको छ। तोकिएको समयमा अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव दर्ता हुन आएको संसद सचिावलयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

निर्वाचन तालिका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। रास्वपाको एकल बहुमत भएका कारण अरु कुनै पनि दलले सभामुखमा उम्मेदवारी नदिएका हुन्।  अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने आफैं छन्। समर्थकमा सांसदहरू सोविता गौतम, डा.स्वर्णिम वाग्ले र सुनिल लम्साल रहेको प्रवक्ता गिरीले जानकारी दिए।

संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र चयन गर्ने उल्लेख छ । सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखमा दाबी गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस