गुप्तेश्वर महादेव क्याम्पसमा एमबिएस विद्यार्थीको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
पोखरा, चैत २२ गते, पोखरास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको एमबिएस तेस्रो सेमेस्टरका विद्यार्थीहरूको सक्रियतामा आइतबार एक विशेष समारोहबीच बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसको आफ्नै सभाहलमा आयोजित उक्त कार्यक्रममा एमबिएस चौथो सेमेस्टरका विद्यार्थीहरूलाई बिदाइ गरिएको छ भने नवआगन्तुक प्रथम सेमेस्टरका विद्यार्थीहरूलाई भव्य स्वागत गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले उच्च शिक्षाको क्षेत्रमा गुप्तेश्वर महादेव क्याम्पसले आफ्नो छुट्टै पहिचान बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य केवल किताबी ज्ञान दिने मात्र नभई बजारमा प्रतिस्पर्धा गर्न सक्ने कुशल व्यवस्थापक र नैतिकवान नागरिक उत्पादन गर्नु हो ।” उहाँले बिदाइ भएर जाने विद्यार्थीहरूलाई कार्यक्षेत्रमा सफलताको शुभकामना दिँदै नयाँ विद्यार्थीहरूलाई क्याम्पसको गरिमा कायम राख्न आग्रह गर्नुभयो ।
समारोहमा क्याम्पस प्रमुख धर्मराज बरालले एमबिएस तहको अध्ययन अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरूलाई सिर्जनशील हुन र क्याम्पसले उपलब्ध गराएका स्रोतसाधनको अधिकतम प्रयोग गर्न सुझाव दिनुभयो ।
त्यसैगरी, प्राध्यापक संघका अध्यक्ष लेखनाथ बरालले शैक्षिक गुणस्तर सुधारमा प्राध्यापक र विद्यार्थीको समन्वय आवश्यक रहेको औंल्याउनुभयो । आइक्युएसी प्रमुख एवं एमबिएस कोअर्डिनेटर राजकुमार सुवेदीले क्याम्पसले गुणस्तर सुनिश्चितताका लागि चालेका कदमहरूबारे प्रकाश पार्नुभएको थियो ।
त्यस्तै सृजनशील विद्यार्थी मञ्चकी सचिव स्मृति थापाले विद्यार्थीहरू बीचको भ्रातृत्व र रचनात्मक कार्यले नै क्याम्पसको वातावरण जीवन्त रहने धारणा राख्नुभयो ।बिदाइ भई जान लागेका चौथो सेमेस्टरका विद्यार्थी सफल देवकोटाले आफ्नो दुई वर्षे शैक्षिक यात्राको अनुभव सुनाउँदै क्याम्पसले प्रदान गरेको ज्ञान र मार्गदर्शन जीवनभरका लागि प्रेरणाको स्रोत बन्ने बताउनुभयो ।
नवआगन्तुक प्रथम सेमेस्टरका विद्यार्थीहरूले क्याम्पसको स्वागतले आफूहरूलाई थप उत्साहित बनाएको र शैक्षिक लक्ष्य प्राप्तिका लागि प्रतिबद्ध रहने बताएका थिए । बिदाई हुने विद्यार्थीहरूलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको सो कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित