पोखरा, २८ चैत ।गण्डकी विश्वविद्यालयको प्रथम ऐतिहासिक दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। उक्त समारोहमा कुल ४४ जना विद्यार्थी दीक्षित भएका छन्।
सुरेन्द्रराज पाण्डेले समारोहलाई सम्बोधन गर्दै शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताउनुभयो। उहाँले वर्तमान समयको आवश्यकताअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिक जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
मुख्यमन्त्री पाण्डेले वैज्ञानिक अनुसन्धान र प्रविधिको प्रयोगमार्फत उत्पादन, उद्योग र वितरण प्रणालीमा नवीनता ल्याउनुपर्ने बताउनुभयो। विश्वविद्यालयका कार्यक्रमलाई देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोड्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले आर्थिक समृद्धि र मानव कल्याणसँग नजोडिएको शिक्षा सान्दर्भिक नहुने धारणा व्यक्त गर्नुभयो। साथै, अध्ययन पूरा गरेपछि ठूलो संख्यामा युवा विदेश पलायन हुनु चिन्ताको विषय भएको उल्लेख गर्नुभयो।
प्रमुख दीक्षान्त वक्ता केदार भaktiaथेमाले दीर्घकालीन रणनीतिअनुसार बजारमुखी तथा कृत्रिम बौद्धिकतामा आधारित पाठ्यक्रम विकासमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले सिकाइको तरिकामा परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो।
कुलपति इन्द्रप्रसाद तिवारीले विश्वविद्यालयले अनुसन्धान, संस्कृति, विज्ञान तथा व्यवसायिक क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्वविद्यालयसँग ५२६ रोपनी जग्गा रहेको छ भने दुई संकायअन्तर्गत पाँच स्नातक तथा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा छन्। १३ भन्दा बढी पाठ्यक्रम तयार भइसकेका छन् भने हाल ५३ जिल्लाका ७९५ विद्यार्थी अध्ययनरत रहेका छन्। साथै १७.२ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ।
न्यासिक परिषद्का अध्यक्ष कैलाशनाथ प्याकुरेलले विश्वविद्यालय अब संस्थागत सुदृढीकरण र गुणस्तरीय शिक्षाको उन्नयनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो। अनुसन्धान, सूचना प्रविधि, खेलकुद व्यवस्थापन, बीबीए, कानुन तथा एमआईटी–एआई जस्ता कार्यक्रम सञ्चालन भइसकेकाले अब नवप्रवर्तन र समुदायमुखी सेवामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
उपकुलपति कृष्णराज अधिकारीका अनुसार स्नातक तहमा सबैभन्दा बढी सीजीपीए प्राप्त गर्ने गौरव भण्डारीले कुलपति पदक प्राप्त गरेका छन्। त्यस्तै, उपकुलपति पदक मलिनकुमार रोका र क्याटरीना बस्नेतले प्राप्त गरेका छन्।
दीक्षान्त समारोहमा खेलकुद कार्यक्रमतर्फ ११ जना, सूचना प्रविधितर्फ १८ जना र औषधि विज्ञानतर्फ १५ जना गरी कुल ४४ जना विद्यार्थी दीक्षित भएका थिए।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित
फेवा महोत्सवमा पर्यटक बिच रमाइलो दौड