logo tiger cup

केन्द्रीय समिति चयनले एकतामा ठेस पुग्यो: डा शेखर कोइराला

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केन्द्रीय समितिमा भएको पछिल्लो मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । सभापति गगनकुमार थापाले वैशाख २८ गते कोइराला र देउवा समूहका १९ जनालाई केन्द्रीय सदस्य थप गरेपछि कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आगामी १५ औँ महाधिवेशनलाई ‘एकता महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

कोइरालाले १४ औँ महाधिवेशनपछि नवीकरण भएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा अर्को महाधिवेशन हुनुपर्ने बताए । कांग्रेस एकताको मुख्य आधार यही हुनुपर्ने उनको तर्क छ । पार्टीको समग्र एकताविना राष्ट्रिय राजनीतिमा सक्रिय र सार्थक भूमिका खेल्न नसकिने उनले उल्लेख गरे । कोइरालाले भने, ‘विगतको निर्वाचन परिणामले हामीलाई ठूलो शिक्षा दिएको हुनुपर्छ ।’ उनले पद र व्यक्तिको कुराभन्दा कांग्रेसको एकता राष्ट्रको आवश्यकता भएको बताए ।

विभाजित कांग्रेसले विगतमा नागरिकको भरोसा गुमाएको र धेरै हण्डर खाएको कोइरालाले स्मरण गरे । नयाँ सोच र साझा भावका साथ अगाडि नबढे आगामी स्थानीय र प्रदेश निर्वाचनमा पार्टीको औचित्यमाथि प्रश्न उठ्ने खतरा उनले देखेका छन् । कांग्रेसमा आबद्ध हजारौँ संघर्षशील र त्यागी युवाको भविष्य सुनिश्चित गर्न पार्टी भावनात्मक रूपले एक हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस