जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको एक अध्ययनले देखाएको छ । यसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको अध्ययनलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको अध्ययन ‘साइन्स एडभान्सेस’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो ।
अनुसन्धान टोलीले सन् १९८५ देखि २०२३ सम्मको झन्डै ४० वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो । अध्ययनमा विश्वभरका २१ हजारभन्दा धेरै नदी खण्डहरूको अक्सिजन स्तर मापन गर्न उन्नत कम्प्युटर आधारित विश्लेषण विधि प्रयोग गरिएको खबरमा उल्लेख छ ।
अध्ययनअनुसार नदीहरूमा अक्सिजनको मात्रा औसतमा प्रतिदशक ०.०४५ मिलिग्राम प्रतिलिटरका दरले घटिरहेको छ । अध्ययन गरिएका झन्डै ८० प्रतिशत नदीहरूमा अक्सिजन कमी देखिएको छ ।
विशेषगरी उष्णकटिबन्धीय क्षेत्रका नदीहरू सबैभन्दा धेरै प्रभावित भएका छन् । यसअघि उच्च अक्षांशका क्षेत्रहरू धेरै प्रभावित हुने अनुमान गरिएको भए पनि अध्ययनले उष्णकटिबन्धीय नदीहरू पहिले नै कम अक्सिजनयुक्त भएकाले अझ छिटो अक्सिजन गुमाइरहेको देखाएको छ ।
उष्णकटिबन्ध भनेको पृथ्वीको उत्तरमा कर्कट रेखा र दक्षिणमा मकर रेखाको बीचमा रहेको क्षेत्र हो । यो क्षेत्र अत्यन्तै तातो, हराभरा र जैविक विविधताले धनी छ ।
अनुसन्धानकर्ताहरूका अनुसार पानीमा अक्सिजन घुल्ने क्षमता घट्नु नै मुख्य कारण हो जसले कुल अक्सिजन ह्रासको झन्डै ६३ प्रतिशत हिस्सा ओगटेको छ । तातो पानीले चिसो पानीको तुलनामा कम अक्सिजन धारण गर्न सक्छ ।
त्यस्तै तापक्रम, प्रकाश र पानीको बहावसँग सम्बन्धित प्रक्रियाहरूमा आएको परिवर्तनले थप १२ प्रतिशत अक्सिजन कमी गराएको अध्ययनले जनाएको छ ।
अत्यधिक गर्मीका लहरहरूले पनि नदीहरूको अक्सिजन ह्रासमा ठूलो भूमिका खेलेका छन् । अध्ययनले विश्वव्यापी नदी अक्सिजन कमीको झन्डै २३ प्रतिशत हिस्सा यस्ता गर्मीका लहरसँग सम्बन्धित रहेको देखाएको छ ।
अनुसन्धानमा अत्यन्त कम वा अत्यन्त धेरै पानीको बहावले केही हदसम्म अक्सिजन कमीको गति घटाउन सक्ने पनि उल्लेख छ । सामान्य अवस्थाको तुलनामा कम बहाव हुँदा अक्सिजन ह्रासको दर १९ प्रतिशतले घटेको पाइएको छ भने धेरै बहाव हुँदा ७ प्रतिशतले कमी आएको छ ।
अनुसन्धानकर्ताहरूले घट्दो अक्सिजन स्तरले नदीको जैविक विविधतामा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । अक्सिजन कम हुँदा माछा तथा अन्य जीवहरू बाँच्न सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।
अनुसन्धानकर्ताहहरूले विशेषगरी उष्णकटिबन्धीय क्षेत्रका देशहरूमा नीति निर्माताहरूलाई प्रभावकारी रणनीति अपनाउन आग्रह गरेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एशियन गेम्स क्रिकेट छनोट खेल्ने नेपाली टोली घोषणा
भर्खरै प्रकाशित