logo go bungy

पोखरा महानगरपालिकाद्वारा अटिजम प्रभावित बालबालिकाका लागि विशेष स्रोत कक्षा सञ्चालनमा

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

 पोखरा महानगरपालिकाले अटिजम प्रभावित बालबालिकाका लागि विशेष स्रोत कक्षा सञ्चालनमा ल्याएको छ । वडा नम्बर १७ महतगौँडास्थित जानकी माध्यमिक विद्यालयमा सोमबार यो कक्षाको शुभारम्भ गरिएको हो । नगर प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त रूपमा कक्षाको उद्घाटन गरे । समावेशी शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले यो सेवा सुरु गरेको हो ।

हाल यो स्रोत कक्षामा ४० जना विद्यार्थी अध्ययनरत छन् । महानगरले आवश्यक स्रोत, साधन र जनशक्ति थप गर्दै यसलाई विस्तार गर्ने योजना बनाएको छ । ‘शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार हो ।’ प्रमुख आचार्यले भने । कुनै पनि बालबालिका शैक्षिक अवसरबाट वञ्चित हुन नहुने उनको भनाइ थियो । फरक क्षमता भएका बालबालिकाका लागि गुणस्तरीय र पहुँचयुक्त शिक्षा सुनिश्चित गर्न महानगरले पूर्वाधार विस्तार गर्ने उनले बताए ।समावेशी शिक्षा महानगरको मुख्य प्राथमिकतामा रहेको उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । अटिजम प्रभावित बालबालिकासहित सबै प्रकारका अपांगता भएका विद्यार्थीका लागि महानगरले आवश्यक सहयोग गर्ने उनले स्पष्ट पारिन् । ‘हामी सबै बालबालिकाका लागि समान अवसर र स्रोत सुनिश्चित गर्न प्रतिबद्ध छौं ।’ उनले भनिन् । यसअघि महानगरले श्रवण अपांगता भएका विद्यार्थीका लागि सृजना बहिरा माध्यमिक विद्यालयमा सेवा दिँदै आएको छ । यस्तै दृष्टिविहीन विद्यार्थीका लागि अमरसिंह माध्यमिक विद्यालयमा पनि स्रोत कक्षाहरू सञ्चालनमा छन् ।

अटिजम मस्तिष्कको विकाससँग सम्बन्धित एक प्रकारको अवस्था हो । यसले व्यक्तिको सामाजिक व्यवहार, सञ्चार क्षमता र सिकाइ शैलीमा प्रभाव पार्छ । अटिजम कुनै संक्रामक रोग होइन । यो कसैको गल्ती वा पालनपोषणको कमजोरीले हुने अवस्था पनि होइन । अटिजम भएका बालबालिकालाई आँखा जुधाएर कुरा गर्न र भाषा विकासमा कठिनाइ हुन सक्छ । उनीहरूमा एउटै व्यवहार दोहोर्‍याइरहने र आवाज वा प्रकाशप्रति असामान्य संवेदनशीलता देखिने लक्षण हुन सक्छन् ।विशेषज्ञका अनुसार समयमै पहिचान र प्रारम्भिक हस्तक्षेपले यस्ता बालबालिकामा सुधार ल्याउन सकिन्छ । नियमित थेरापी र विशेष शिक्षण पद्धतिले उनीहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्छ । परिवार र विद्यालयको संयुक्त प्रयासले अटिजम प्रभावित बालबालिकाको सामाजिक सहभागिता बढाउन सकिने विज्ञहरू बताउँछन् । विशेष आवश्यकता भएका बालबालिकाका लागि महानगरले उनीहरूको रुचि र क्षमता अनुसारको सिकाइ वातावरण बनाउन प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस