logo go bungy

साउन २ गते सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक हुने

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

पोखरा महानगरपालिका प्रमुख (मेयर) धनराज आचार्यले बसपार्कका सुकुम्बासीको व्यवस्थापन र बसपार्क क्षेत्र खाली गर्ने प्रक्रियाको कार्यतालिका सार्वजनिक गरेका छन् ।

कार्यतालिकाअनुसार साउन २ गते सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक हुनेछ । त्यसपछि सुझाव, दाबी र विरोध जनाउन ७ दिनको समय दिइनेछ । ७ दिने अवधि सकिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ । अन्तिम नामावलीका आधारमा यथाशीघ्र स्थानान्तरण गरिने स्थान देखाइनेछ । स्थान देखाएको मितिले ७ दिनभित्र सम्बन्धित बस्ती खाली गर्ने प्रक्रिया सुरु गरिनेछ ।

३२ असार र १ साउनमा वास्तविक घरधुरी विवरण र प्रतिवेदनको तथ्यांक भिडान अर्थात ट्याली गरिने महानगरपालिकाले जनाएको छ । सुकुम्बासी समस्या सहजीकरण समितिसँग पनि प्रतिवेदनबारे छलफल गरी जानकारी दिने महानगरपालिकाले बताएको छ । मेयर आचार्यले भने, ‘यस प्रक्रियालाई व्यवस्थित, पारदर्शी र न्यायोचित ढंगबाट सम्पन्न गर्न सम्पूर्ण सरोकारवालाको सहयोग र सहकार्यको अपेक्षा गर्दछौं ।’

महानगरपालिकाले बसपार्क क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न जेठ १२ गते तीनवटा छुट्टाछुट्टै समिति गठन गरेको थियो । प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीको संयोजकत्वमा सुकुम्बासी समस्या सहजीकरण समिति गठन गरिएको थियो । समितिले महानगरपालिकामा सुकुम्बासीका रूपमा निवेदन दिएका ५७२ जनाको दाबी छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको थियो ।

समितिलाई सुरुमा १० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो । छानबिन र अध्ययनको काम नसकिएपछि समितिको म्याद असार १७ गतेसम्म थपिएको थियो । सोही समितिले महानगरपालिकालाई प्रतिवेदन बुझायो ।

सुकुम्बासी बस्ती स्थानान्तरणका लागि उपयुक्त जग्गा खोज्न महानगरपालिकाले अर्को समिति पनि गठन गरेको थियो । समितिले १० दिनभित्र अध्ययन गरी सरकारी तथा सार्वजनिक जग्गालाई सुकुम्बासी राख्न सकिने सम्भावित स्थानका रूपमा प्रस्ताव गरेको थियो ।

महानगरपालिकाले बसपार्क क्षेत्रभित्र सञ्चालनमा रहेको सहारा आधारभूत विद्यालयलाई पनि सुकुम्बासीका लागि बनाइने संयुक्त आवासकै क्षेत्रमा स्थानान्तरण गर्ने योजना अघि सारेको छ । विद्यालयलाई आधुनिक र व्यवस्थित रूपमा नयाँ बस्तीमा सार्ने जानकारी मेयर आचार्यले पहिले नै दिएका थिए ।

मेयर आचार्यले सुकुम्बासीको नाम र बहानामा अन्य स्वार्थ पूरा गर्ने कार्य नगर्न र वास्तविक पहिचानपछि नै उचित व्यवस्थापन हुने भएकाले अनावश्यक राजनीतिकरण नगर्न पहिले नै आग्रह गरेका थिए । महानगरपालिकाले हालसम्म १९ हजार ८ सय ५६ परिवारलाई सुकुम्बासी र अव्यवस्थित बसोबासीका रूपमा निस्सा वितरण गरिसकेको मेयर आचार्यले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस