अमेरिकी प्रशासनका अनुसार इरान युद्धमा ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च भइसकेको छ । याे भनेको नेपाली रुपैयाँ ५७ खर्ब ७१ अर्बभन्दा धेरै हो । नेपालमा अहिलेसम्मकै ठूलो बजेट चालू आर्थिक वर्षमा २१ खर्ब २४ अर्ब रुपैयाँकाे आएकाे छ ।
अमेरिकी रक्षा मन्त्रालयले इरानविरुद्धको अभियानलाई निरन्तरता दिन थप ६७ अर्ब डलर बजेट मागेको छ । यो भनेको १०३ खर्ब रुपैयाँ अर्थात् नेपालको ५ वटा आर्थिक वर्षको बजेटभन्दा पनि धेरै हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना कंग्रेससँग झन्डै ९० अर्ब डलरको थप बजेट माग गर्नुभएकामा धेरैजसो रकम इरानसँगको द्वन्द्वसँग सम्बन्धित छ ।
गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेका थिए । यो युद्ध निकै महँगो बन्दै गएको छ ।
यसैबीच अमेरिकी सेनाले लगातार ११औँ रात इरानमाथि आक्रमण गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आणविक ऊर्जा केन्द्र रहेको बुसेहरसहित विभिन्न क्षेत्रमा आक्रमण भएको छ भने तेहरानको पश्चिम, पूर्व र उत्तरपूर्वी क्षेत्रमा हवाई सुरक्षा प्रणाली सक्रिय भएको आवाज सुनिएको थियो ।
हर्मुज जलमार्गमा शुरू भएको द्वन्द्व विस्तार हुँदै मध्यपूर्वका अन्य रणनीतिक समुद्री मार्गसम्म पुगेको छ । यसले विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ ।
ट्रम्पले अर्को सम्भावित अमेरिकी आक्रमण नतान्ज नजिक रहेको ‘पिक्याक्स माउन्टेन’ नामक भूमिगत आणविक परिसर हुन सक्ने सङ्केत गर्नुभएको छ । पश्चिमी गुप्तचर निकायहरूले याे क्षेत्रमा इरानले अघोषित युरेनियम संवर्धन केन्द्र निर्माण गरिरहेको आशङ्का व्यक्त गर्दै आएका छन् ।
इरानले पनि अमेरिकी आक्रमणकाे बदलामा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइरहेकाे छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित