logo go bungy

औसत मिति आसपासमै मनसुन भित्रने मौसमविद्को अनुमान

News Logoपरिचित खबर 2 हप्ता अगाडि
87 2 minutes read

देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

पछिल्लो ३ घण्टामा सबैभन्दा डडेलधुरामा ४४ मिलिमिटर पानी परेको छ । पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२.३ डिग्री सेल्सियस रहेको छ । तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ । अरू ठाउँमा त्यो भन्दा कम नै तापक्रम रहेको छ । 

तीन दिनअघि तराईका केही ठाउँमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको हो । गए राति पनि देशका केही ठाउँमा ठूलो पानी परेको छ । धनुषा, महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासीपूर्व, तनहुँलगायत ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । 

यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ । तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन । मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भई नसकेको विभागको भनाई छ । 

भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बङ्गालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ । नेपालमा सरदर जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । 

आज जुन १२ तारिख हो । यसपालि औसत मिति आसपासमै मनसुन भित्रने मौसमविद्को अनुमान छ । 

प्रतिक्रिया दिनुहोस